Trending :
 

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेशले नेपालको संसदको दुबै सभालाई सम्बोधन गर्ने

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । 
 
यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटरेशले असोज २७ गते शनिवार संयुक्त सदनलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाइएको हो । सरकारले आन्तरिक रूपमा यसबारे तयारी गरे पनि भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको छैन भने यसबारे संसद सचिवालयलाई औपचारिक पत्र पनि पठाइसकेको छैन । 
 
सत्ता गठबन्धन दल माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले महासचिव गुटरेशले असोज २७ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी रहेको बताए । 
 
यता संघीय संसदका प्रवक्ता एकराम गिरीले संयुक्त राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्ने भन्ने कुरा आफूले पनि अनौपचारिक रूपमा सुनेको तर सचिवालयलाई सरकारका तर्फबाट औपचारिक पत्र भने अहिलेसम्म प्राप्त नभएको बताए ।