चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्
-आस्था न्युज
असोज २४, २०८० काठमाण्डौ ।
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताउनुभएको छ ।
उहाँ अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनरमिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्नुहुन्थ्यो ।
“उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो”, प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भन्नुभयो । पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ । यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन ।
अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ । रासस