बालअधिकारको सुनिश्चितताका लागि तीनै तहका सरकारबीचको समन्वय आवश्यकः मन्त्री आचार्य
-आस्था न्युज
असोज २४, २०८० काठमाण्डौ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालअधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज राष्ट्रिय बालअधिकार परिषद्द्वारा आयोजित मूल समारोह समितिको कार्यक्रममा मन्त्री आचार्यले बालिकालाई शुभकामना दिँदै बाल अधिकारको सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने, बालबालिका हराउने र जोखिममा पर्ने, बालविवाहमा पर्ने जस्ता समस्याको सम्बोधनका लागि राज्यले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनका लागि तीन वटै तहका सरकारका निकाय र गैह्रसरकारी संस्थालाई आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले बालअधिकारको कार्यान्वयनका लागि सरकारी र गैह्रसरकारी निकायबीचको सहकार्य र समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो । सोही मन्त्रालयका सहसचिव इन्दु घिमिरेले कुरीतिविरुद्धको जनचेतना जगाउने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय बालविकास कोष (युनिसेफ) का राष्ट्रिय प्रतिनिधि एलिस अकुङ्गाले बालिकाको अधिकारको संरक्षण, प्रबद्र्धन र वकालतका लागि आफूहरुको सहकार्य जारी रहने बताउनुभयो ।
परिषद्का उपाध्यक्ष बमबहादुर बाँनियाले बालबालिको अधिकारको सुनिश्चितताका लागि भएका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीले उठाएका सवालमा जवाफ दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले गर्भमै लिङ्गको पहिचान गर्ने गलत अभ्यासलाई निरुत्साहन गर्दै सन् २०३० सम्ममा विभेदपूर्ण लिङ्ग विभेद् अन्त्यका लागि रणनीति बनाइएको जानकारी दिनुभयो ।