चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी
-आस्था न्युज
असोज २४, २०८० काठमाण्डौ ।
वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा बागलुङतमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ ।
पहिरोले क्षति पु¥याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाइएको छ ।
चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन ।
बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।
वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताउनुभयो । तमानखोला–५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्रायो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताउनुभयो । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उहाँले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोख्नुभयो ।