Trending :
 

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४, २०८० काठमाण्डौ । 
राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ । 
 
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको आज उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताउनुभयो ।
 
नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्ने प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताउनुभयो ।
 
केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । 
 
 विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि  योगदान गर्न आह्वान गर्नुभयो । 
 
  केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । केन्द्रका निम्ति अत्याधुनिक उपकरण पनि कोरियाले नै उपलव्ध गराएको हो । नेपालको प्राविधिक एवं शैक्षिक उन्नयनका निम्ति कोरिया सरकारले निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।