Trending :
 

अख्तियारमा तनहुँबाट धेरै उजुरी

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।
 
तनहुँमा आर्थिक वर्ष २०७९/८० मा एक सय ९४ उजुरी परेका छन् । गत आवमा आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका थप ६५ उजुरी थपिएका थिए । कूल दुई सय ५९ मध्ये उक्त अवधिमा एक सय ८८ उजुरी फछ्र्योट भएका आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा धेरै उजुरी पर्नेमा कास्की पहिलो र तनहुँ दोस्रो स्थानमा छन् ।
 
कास्कीबाट एक वर्षको अवधिमा पाँच सय ८६ उजुरी परेको थियो । अघिल्लो वर्षको सरी आएका एक सय ७४ सहित सात सय ६० उजुरी रहेकामा पाँच सय ३७ उजुरी फछ्र्योट भएका आयोग कार्यालयले जनाएको छ । 
 
प्रवक्ता दाहालका अनुसार गोरखामा एक सय ४० मध्ये एक सय छ, मनाङमा २४ मध्ये १८, मुस्ताङमा २५ मध्ये १६, म्याग्दीमा ९४ मध्ये ७१, लमजुङमा ६९ मध्ये ५२, नवलपुरमा एक सय ४४ मध्ये ९३, पर्वतमा एक सय ८३ मध्ये एक सय २५ र बागलुङमा एक सय ५७ उजुरी रहेकामा एक सय १९ फछ्र्योट भएका छन् । 
 
आयोगमा प्रदेशका जिल्लाबाट घिल्लो वर्षकोसहित गत वर्ष कूल दुई हजार १८ उजुरी दर्ता भएकामा एक हजार चार सय ३७ फछ्र्योट भएका आयोगले जानकारी दिएको छ । आयोगमा अधिकांश उजुरी स्थानीय तहका पर्ने गरेका छन् ।