अर्थतन्त्र सुधारका लागि उसामुहिक प्रयासमार्फत् अघि बढ्नुपर्नेमा अध्यक्ष ढकालको जोड
-आस्था न्युज
असोज २५, २०८० काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामुहिक प्रयासमार्फत् अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा अध्यक्ष ढकालले भन्नुभयो, “अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एकै ठाउँमा आएर सामुहिक रुपमा अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर आउनका लागि पहल गरौँ । निजी क्षेत्रका तर्फबाट महासङ्घले यसको सुरुआत गरिसकेको छ ।” समयमै सही नीति लिन नसकेका कारण अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको र अब टालटुले नीतिले तत्काल सुधार सम्भव नरहेको उहाँको भनाइ छ ।
अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि तत्काल कुनै पहल चाल्न पनि सरकारसँग आग्रह गर्नुभयो । “तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी देखिएको छ”, उहाँले भन्नुभयो । आयोगको अध्यक्ष प्रधानमन्त्री नै रहने र निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रुपमा समावेश हुनुपर्ने ढकालको सुझाव छ ।
त्यस्तै उक्त आयोगमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका उच्च नेतृत्व रहनु सान्दर्भिक हुने उहाँको भनाइ छ । यस्तो आयोग बनाउँदा खर्च बढ्ने हुँदा आयोगका पदाधिकारीहरु अवैतनिक रुपमा नियुक्त हुनुका साथै मितव्ययी रुपमा काम गर्ने गरी कार्यविधि निर्माण गर्दा उचित हुने पनि उहाँको भनाइ छ ।
निजी क्षेत्रको मनोबल बढाउन सरकार सकारात्मक हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष ढकालले निजी क्षेत्रको मर्यादाक्रमको बिषय सम्बोधन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र राख्ने गरी विधेयक बनिरहेकोमा यसले निजी क्षेत्रलाई हतोत्सायी बनाएको अध्यक्ष ढकालको भनाइ छ ।