Trending :
 

झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा आएका नेता–कार्यकर्ताहरुको गाडी तोडफोड गरिएको छ ।
 
पहिचानवादी समूहका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले एमाले नेता कार्यकर्ताका गाडीमा तोडफोड गरेका हुन् ।
 
झापाको अर्जुनधारामा बिहीबार पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी अधिवेशन आयोजना गरिएको थियो ।
 
त्यस क्रममा नेता बस्नेत र अन्य नेता कार्यकर्ता सहभागी हुन पुगेका थिए । कार्यक्रम सञ्चालन भइरहेका बेला पार्किङमा राखिएको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
 
पहिचानवादी समूहका कार्यकर्तासँग प्रसाईँ समर्थक युवाहरु मिसिएर गाडी तोडफोड गरेका थिए । 
 
कार्यक्रममा अवरोध गर्ने प्रयास समेत भएको थियो । गाडी फुटाउन संलग्नमध्ये प्रसाईँनिकट विक्रम सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
काठमाडौंमा केही दिनअघि प्रसाईंमाथि मोसो दलेर दुर्व्यवहार गरिएको थियो । उक्त घटनामा युवा संघका कार्यकर्ता सहभागी रहेको खुलेको थियो ।