तनहुँको वुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा
-रासस
असोज २६, २०८० काठमाडौं ।
आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको वुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा स्वर्णिम वाग्लेको पहलमा रु एक लाख सहयोग गरिएको हो ।
रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई रु एक लाख बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेललगायतले उक्त रकमको चेक विहीबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ । केही समय अगाडि सांसद वाग्लेसँगका भेटमा विद्यालयलाई आर्थिक सङ्कट भएकोबारेमा जानकारी गराइएको थियो ।
कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ बहिरा विद्यार्थी अध्ययनरत छन् । ती मध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।
आर्थिक स्रोत नहुँदा विद्यालय सङ्कटमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउनुभयो । तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।
विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको अध्यक्ष बस्नेले बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”
सरकारले मासिक प्रतिविद्यार्थी रु चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोसाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । “१४ वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।”
यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरै पटक सरोकारवाला निकाय गुहारिसक्याँै, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले भन्नुभयो ।
छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवास गृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थले जानकारी दिनुभयो ।
लागि दश महिनाबापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुई पटक मासु र हप्तामा एक पटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको उहाँको भनाइ छ । रासस