स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

आश्विन २६,२०८०

-आस्था न्युज

आसोज २६, २०८० काठमाडौं ।
भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् ।
 
यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।
 
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ आएका सेवाग्राहीहरुलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।” विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उहाँले बताउनुभयो । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष छ, नवजात शिशु सघन उपचार कक्ष २०  सबै भरिएका छन् । 
 
त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको छ । ती शय्याहरुमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौँ ।” अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।
 
अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउनुहुन्छ । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।