Trending :
 

चाडबाडलाई मध्यनजर गर्दै देशभर ७ सय ३९ स्थानमा नागरिक सहायता कक्ष स्थापना

आश्विन २७,२०८०

-आस्था न्युज

असोज २७, २०८० काठमाडौं ।
चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर साढे ७ सय स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् ।
 
दसैं, तिहार, नेपाल संवत् तथा छठपर्व सुरक्षार्थ सवारी आवागमन र सुरक्षा रणनीतिअन्तर्गत नेपाल प्रहरीले करिब ६ सय र सशस्त्र प्रहरीले १ सय ५५ स्थानमा सहायता कक्ष स्थापना गरेका हुन् । प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने जनाइएको छ । प्रहरीले देशभित्रका मुख्य सहर र भीडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ । सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ ।
 
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले उपत्यका र सातवटा प्रदेशमा जनपद प्रहरीका २ सय ७६ स्थान, ट्राफिक प्रहरीका २ सय ५८ र जनपद प्रहरीकै ५० ठाउँमा सीमा आवागमन तथा सुरक्षार्थ डेस्क स्थापना गरिएको बताए । यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्रै १४ ठाउँमा ट्राफिक प्रहरीका यात्रु सहायता कक्ष र जनपदका ३१ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी आवागमन र भीडभाड काठमाडौंमा हुने गर्छ । सहायता कक्षबाहेक काठमाडौंमा नियमित र अरू छड्के टोलीलाई नियमितबाहेक पर्व सुरक्षमा समेत काम गर्न निर्देशन दिइएको छ ।
 
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले चाडपर्वका समयमा अरू बेलाभन्दा बढी भीडभाड, आवागमन र आर्थिक कारोबार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यहीअनुसार गर्न आवश्यक रहेको बताए । यो पटक प्रहरीले सीमा क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गर्न कुकुरसहितको संयन्त्र पनि तैनाथ गराएको छ । सीमामा स्थापना भएका डेस्कमा हातहतियार तथा विस्फोटक पदार्थ र लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको अनुसन्धान संयन्त्र तैनाथ गराइएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।
 
यसैगरी सशस्त्र प्रहरीले देशभर १ सय ५६ स्थानमा डेस्क स्थापना गरेकोमा त्यसमध्ये ३३ ठाउँमा स्वास्थ्य परीक्षणसहितको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । सशस्त्र सीमा सुरक्षार्थ अग्रभागमा खटिने सुरक्षा संयन्त्र पनि हो । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा कायम भएकोमा भारततर्फ खुला सिमाना छ ।
 
चाडपर्वका बेला विगतमा भारतबाट घर फर्कने नागरिक सिमानामा लुटिने, कुटिने तथा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारमा पर्ने गरेका थिए । यो पटक त्यस्ता घटना दोहोरिन नदिन भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरेर सुरक्षा र आवागमन व्यवस्थापन मिलाइने दुवै प्रहरी संगठनले जनाएका छन् ।