Trending :
 

कांग्रेसले आफ्नो शक्ति चिन्न सकेन : नेतृ देउवा

आश्विन २७,२०८०

-आस्था न्युज

असोज २७ ,२०८० काठमाडौं । 
नेपाली काङ्ग्रेसका नेतृ आरजु देउवा राणाले, नेपाली कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको तर्क गरेकी छिन् । 
 
अछाम काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले, स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताइन् । 
 
उनले भनिन् ‘सातै प्रदेशमा, केन्द्रमा, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ । भनेपछि हामी शक्ति भएको स्थानमा छौँ कि हामी कमजोरमा छौ । हामीले आफूलाई चिन्नु पर्छ । हाम्रो पार्टीका अग्रज नेताहरुले गर्नु भएको काम जनताको अगाडि प्रष्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेक पटक चुनावमा जिताएको छ । ’ 
 
सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति असन्तुष्टि पोख्दै उनले सकरात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन आग्रह गरिन् । ‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली काङ्ग्रेस जिरोमा गईसकेको छ के हामी जिरोको पार्टी हो ?’ उनले भनिन् ‘सकारात्मक सोच राख्नु पर्छ हाम्रो जीवन पनि सकारात्मक हुन्छ । राम्रो सोचौं, राम्रो गरौं र राम्रैतिर उन्मुख हुनुपर्छ । पार्टीको कुरामा पनि हाम्रो नेताहरुले धेरै ठूलो मूल्य चुकाएर यो देशलाई यहाँसम्म ल्याएको छ । हरेक कालखण्डमा पार्टीले आफूलाई सावित गर्दै आएको छ । संविधान पनि नेपाली काङ्ग्रेसले नै ल्याएको हो । पार्टीलाई संगठित गर्दै जानुपर्छ ।  ’ 
 
आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेमा जोड दिएकी उनले सकरात्मक बन्न सबैलाई प्रेरणा मिलोस भन्ने कामना पनि गरिन् । 
 
‘ हामीभित्र भएका नकारात्मक शक्तिहरुलाई कसरी हटाउँने सकारात्मक उर्जा, राम्रो दृष्टि र दैविक गुणहरुलाई बाहिर ल्याउँने समय विजय दशमीले हामीलाई दिएको छ । यो दशैमा आफूभित्र भएको सकारात्मक शक्तिलाई बाहिर ल्याउँन र मनमा भएको रिस, घृणालाई हटाउँन आग्रह गर्छु । ’ उनले भनिन् ।