Trending :
 

प्रतिपक्षलाई कहिल्यै सरकारमा फर्किन नपाईने चिन्ताले गठबन्धन उल्टाउने कोसिस भइरहेको प्रधानमन्त्रीको टिप्पणी

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन् । 
 
आइतबार भरतपुर महानगरपालिकाका ३ मा आयोजित एक कार्यक्रमा उनले, कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन् ।
 
सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ । 
 
उनले भने ,‘ एकथरी मानिस छटपटिएका छन् । उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन ,सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत  बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो । यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन् ।’ 
 
उनले कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए । सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाई छ । 
 
उनले भने, ‘कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्र्तगत काम गरे । तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ । अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु ।’
 
प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता  र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे ।