Trending :
 

पूर्वमा उत्पादित ७० प्रतिशत अम्रिसो कूचो निकासी

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित अम्रिसो अर्थात् कूचो निकासी उत्साहजनक देखिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अम्रिसो मुख्य रुपमा भारत निकासी हुने गरेको छ ।
 
ती जिल्लाबाट निकासी भएर झापाको धुलाबारी र पश्चिमको भैरहवामा संकलन गर्ने गरिएको छ । ती स्थानबाट भारतीय बजारसम्म पुर्याइने गरेको छ । पूर्वमा झापाको काँकडभिट्टा र विराटनगर भन्सारको नाका हुँदै कूलो भारतीय बजारमा पुग्छन् ।
 
विराटनगरका कूचो व्यवसायी जितेन्द्र साह विभिन्न जिल्लाबाट संकलन गरी ल्याएर विराटनगरमा जम्मा गर्ने र भारतीय बजारमा निकासी गर्ने गरेको बताउँछन् ।
 
कुचो व्यवसायी महासंघका अनुसार झापाको धुलाबारीमा संकलित अम्रिसो काँकडभिट्टा नाकाबाट भारत निर्यात गरिन्छ । यस वर्ष किलोको १ सय ३० रुपैयाँमा अम्रिसो खरिद बिक्री भएको छ ।
 
दुई वर्षअघि यसको मूल्य प्रतिकिलो ३५ रुपैयाँ मात्र थियो । मूल्य बढेपछि किसानलाई फाइदा भएको महासंघले जनाएको छ ।
 
पूर्वको काँकडभिट्टा भन्सारबाट सरदर वार्षिक १ हजार र विराटनगरस्थित भन्सारबाट २ सय ट्रकमा भारत निर्यात हुने गरेको छ । एक ट्रकमा ५० किलोको बण्डलका दरले तीन सय बण्डलसम्म कूचो ढुवानी गरिन्छ । 
 
निकासी गर्दा एक ट्रक बराबर १२ लाख रुपैयाँ आउने व्यवसायीले बताएका छन् ।  भारतकै सिलोङमा ठूलो परिमाणमा अम्रिसो उत्पादन हुने गरेको छ । त्यसपछि नेपालको उत्पादन बढी छ । नेपालको अम्रिसो र त्यसबाट बनाइने कूचो गुणस्तरीय मानिन्छ ।
 
निकासी गर्दा ढुवानी गर्ने क्रममा विभिन्न स्थानमा कर लिइने गरेको भन्दै व्यवसायीले यसले गर्दा लागत बढ्ने बताएका छन् । भन्सार कार्यालयले भने निकासीमा शुल्क नलिने गरेको जनाएको छ ।
 
भारतको अम्रिसोको डाँठ मोटो र तौल पनि बढी हुने साथै नेपालको कुचो हल्का र बलियो हुने भएकाले भारतीय उपभोक्ताले मन पराउने गरेका छन् । कूचो बनाएर पठाउँदा भारतमा १८ प्रतिशत जीएसटी शुल्क लाग्ने भएकाले नेपालको उत्पादन सबै कच्चा सामग्रीका रूपमा मात्रै पठाइने गरेको छ ।
 
मुख्य रुपमा भारत गइरहेको नेपाली कूचो गत वर्षदेखि पाकिस्तान, साउदी अरब र बंगलादेश पनि जान थालेको महासंघले जनाएको छ । नेपालमा उत्पादित कूचोमध्ये ३० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने ७० प्रतिशत निकासी हुने गरेको छ ।