बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण
-आस्था न्युज
असोज २८, २०८० काठमाडौं ।
बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा पुगेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।
पाँचतारे होटलमा सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार केबलकारको प्रवेशद्वारमा रू २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ ।
एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताउनुभयो ।