Trending :
 

सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौति, चाडबाडमा ५० हजार ५ सय भन्दाबढी सुरक्षाकर्मी फिल्डमा

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले, दसैंमा सामाजिक सञ्जालमार्फत दिईने व्यक्तिगत जानकारीले सुरक्षा चुनौति बढेको बताएका छन् । 
 
नेपाल न्यूज बैंकसंगको कुराकानीमा उनले, आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौति बढेको बताएका हुन् । 
 
चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचनाको सार्वजनिकरणको मुख्य भूमिका रहेको प्रवक्ता कडायतले बताए । 
 
उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो । लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ । जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं । यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ ।’
 
नेपालीहरुको ठूलापर्व दसैँ, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए । 
 
देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए । 
 
उक्त सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए । 
 
चाडबाडमा आम नागरिकको सुरक्षाका लागि  ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए ।