सम्झौता कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने स्थानीय तहका कर्मचारीको चेतावनी
-आस्था न्युज
असोज २८, २०८० काठमाडौं ।
स्थानीय तहका कर्मचारीको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले, आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरु र सरकारबीच १९ बुँदे सहमति भएको जानकारी दिदँै तत्कालका लािग सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
पेसागत हक हितका लागि विभिन्न २० बुँदे माग राखेर गत असोज १९ गतेदेखि सडकमा उत्रिएका उनीहरुले १९ बुदाँ सम्बोधनका लागि सरकार तयार भएकाले आन्दोलन रोकेको जानकारी दिएका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तहका कर्मचारी आठ वर्षको अवधिसम्म ऐनविहीन अवस्थामा रहँदा वृत्ति विकासबाट बञ्चित भएको बताए ।
सरकारले ऐन ल्याएर वृत्ति विकासको बाटो खोल्नुपर्छ भनेर आफूहरु आन्दोलनमा होमिएको उनले बताए । स्थानीय तहका कर्मचारीप्रति संघीय सरकारको जहिले पनि कमजोर मानसिकता रहेको भन्दै उनले आपत्ति जनाए ।
सहमति बमोजिम सरकारले आफूहरुको माग संघीय निजामति ऐनमा समावेश गर्ने उनले विश्वास व्यक्त गरे । आफूहरुसँगको सहमतिबाट सरकार विचलित भएको खण्डमा फेरि सशक्त रुपमा निर्णायक आन्दोलन गर्ने उनको चेतावनी छ ।