Trending :
 

भेडा च्याङ्ग्राको व्यापार घटेपछि व्यवसायी चिन्तित

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उहाँलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उहाँ बागलुङको गलकोट आई पुग्नुभएको थियो । 
हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताउनुभयो । व्यापारमा निस्केको दुई हप्तामा उहाँले नौवटा मात्रै भेडा व्यापार गर्नुभयो । एक सय ५० भेडा लिएर बजार आउनुभएका बुढा मगर व्यापार नभएपछि चिन्तित हुनुभएको हो । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उहाँ व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ ।
 
अघिल्लो वर्षको तुनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । बुढा मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएका छन् । 
 
हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको बुढा मगरले बताउनुभयो । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आउनुभएका तिलुलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ । वर्षभरि लेकबेँसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा निकै दुःख लागेको उहाँले बताउनुभयो । 
 
पोहोर साल एउटा भेडालाई रू २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष रू ५२ हजारसम्म पुगेको मगरको भनाइ थियो । पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नु परेको उहाँले बताउनुभयो । पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उहाँले बताउनुभयो ।