वालिङमा गँड्यौले मल प्रवर्द्धन अभियान सुरु
-आस्था न्युज
असोज २९, २०८० काठमाडौं ।
स्याङ्जाको वालिङ-८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो ।
सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिकरुपमा उत्पादन गर्न थालिएको उहाँले बताउनुभयो ।
“गाउँगाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्नका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “तालिमपश्चात् सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँगाउँमा गँड्यौलापालन भइरहेको छ ।”
सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ । सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उहाँले बताउनुभयो । गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यवसायिक गँड्यौलापालनतर्फ किसानको आकर्षण बढेको हो ।
सहकारीले किसानसँग प्रतिकेजी रू २० मा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी रू ३५ मा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्नका लागि नभई नहुने १६ किसिमका तत्वहरु यस मलमा पाइने उहाँले दाबी गर्नुभयो ।
नगरपालिकाले रू २० लाख र सहकारीले रू १० लाख लगानी गरी गँड्यौला पाल्नका लागि प्लान्ट निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो । “सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गर्नुभयो”, उहाँले भन्नुभयो, “अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ ।” उहाँका अनुसार प्लान्टका बारेमा बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरु आउने गरेका छन् ।