‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ समापन, राइडरलाई सम्मान र प्रमाणपत्र प्रदान
-आस्था न्युज
असोज २९, २०८० काठमाडौं ।
४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ राइडर्सलाई प्रमाणपत्र दिएर समापन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश, १७ जिल्ला, १००० किलोमीटर यात्रा गरेका राइडर्सलाई प्रमाणपत्र दिएर ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को समापन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका पर्यटन बोर्डका सीईओ डा।धनन्जय रेग्मीले काठमाडौँदेखि मकवानपुर, पर्सा राष्ट्रिय निकुञ्ज, सौराहा, भरतपुर, लूम्बिनी, जितगढी, पाल्पा, रानीमहल हुँदै पोखरा, बेगनासताल यात्रा गरेका राइडर्सलाई बधाई दिँदै प्रमाणपत्र दिएका हुन् ।
गोल्डेन ट्रयाङ्गल बाइक टूरका संयोजक तथा आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर र रानीमहल तथा बेगनासताललाई केन्द्रबिन्दुमा राखेर ‘एक्सप्लोर’ गर्दै बाइक टूर सफल भएको बताए ।
बाइक टूरले नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण आगामी मंसिरमा पोखरामा गर्न थप सहज र सफलता मिलेको पनि उनले बताए । यसअघि उनकै नेतृत्वमा ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ पनि सफल भएको थियो ।