Trending :
 

कार्यकर्ता रिहाइ माग गर्दै धनकुटामा यातायात बन्द, यात्रु अलपत्र

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
‘कोशी प्रदेश पुनः नामांकन संघर्ष समिति’ ले आह्वान गरेको बन्दका कारण धनकुटामा यातायात सञ्चालन प्रभावित बनेको छ ।
 
बन्दका कारण सवारी साधनहरु चल्न नपाउँदा यात्रुहरु समस्यामा परेका छन् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
 
बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य आउजाउ गर्ने यात्रुहरु समस्यामा परेका हुन् ।
 
गत असोज २५ गते पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दे समितिले यातायात बन्द आह्वान गरेको हो ।
 
भदौ ८ गते धनकुटाको राजारानीमा आयोजित युवा संघको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले पहिचान पक्षधर संगठनका तीनजना कार्यकर्तालाई पक्राउ गरेको थियो । 
 
ती कार्यकर्ताको विनासर्त रिहाइको माग राखेर समितिले बिहानैदेखि कोशी राजमार्गको भेडेटार–फोक्लेन्ड टापु खण्ड अवरुद्ध बनाएको छ ।
 
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार बन्दकर्ताका मागबारे छलफल भइरहेको छ । उनले यातायात सेवा नियमित सञ्चालन गराउन संघर्ष समितिसँग कुरा गरेर पहल भइरहेको बताए ।