Trending :
 

बागलुङमा किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
बागलुङको गलकोट नगरपालिका-११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ ।
 
नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन । यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि कृषक हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।
 
गाउँमा रासायनिक मल प्रयोग नगरी जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उहाँको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने श्रीषले विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गर्नुभयो ।