सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरियो यस वर्षको मनसुन
-आस्था न्युज
असोज ३०, २०८० काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन १२४ दिन रहेर सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको छ ।
मंगलबार प्राधिकरणले काठमाडौंमा आयोजित मनसुन प्रभाव विपद् विशेष अन्तरक्रिया कार्यक्रम मार्फत २०८० जेठ ३१ गते नेपालमा आगमन भएको यस वर्षको मनसुन १२४ दिन रहेर २०८० असोज २८ गते सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको जानकारी दिएको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा समन्वयात्मक र एकीकृत क्रियाकलाप तय गरी मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० जेठ २८ गते बसेको कार्यकारी समितिले स्वीकृत गरेलगत्तै कार्यान्वयनमा गएको थियो ।
खोज तथा उद्धारका कामलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था एवं निकायहरुसँगको समन्वयमा यस अवधिभर विपद् प्रतिकार्य गरिएको थियो । मनसुन पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा ‘अलर्ट’ जारी भएका थिए ।
मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो मानवीय तथा भौतिक क्षति हुन पुग्यो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २०८० असार २२ गते बसेको एघारौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनसुनजन्य घटनाहरुबाट मानवीय क्षति पुगेका र घरवारविहीन परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न निर्देशन दिएका थिए ।