Trending :
 

लोपोन्मुख गिद्ध जोगाउन नियमित चारो दान

आश्विन ३०,२०८०

-रासस

असोज ३०, २०८० काठमाडौं ।
विभिन्न कारणले गिद्ध संकटमा पर्दै गएको छ । लोपोन्मुख गिद्ध संरक्षण गर्नुपर्ने आवश्यकतालाई ख्याल गर्दै सुनसरीको बराहक्षेत्रमा गिद्ध संरक्षणका लागि पहल गरिएको छ ।
 
यसका लागि सुनसरीको बराहक्षेत्र-८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात गिद्धको रेस्टुरेन्ट सञ्चालन गरिएको छ । 
 
रेस्टुरेन्टमा गिद्धका लागि नियमित रुपमा चारो उपलब्ध गराउने गरिएको छ । गिद्धको चारो व्यवस्थापनका लागि दुई दर्जनभन्दा बढी चौपाया पालिएको छ । पशुपालक किसानहरुले बुढा भएका तथा बेत बसेका गाईहरु रेष्टुरेन्टका लागि निःशुल्क दिने गरेका छन् ।
 
रेस्टुरेन्टमा चारोका लागि दुई सयभन्दा बढी गिद्धहरु आउने गरेको अनुमान छ । जाडोको मौसममा हिमाली गिद्धहरु पहाडबाट झर्ने गर्छन् । फागुन अन्तिमसम्म बसेर गर्मी महिना लागेसँगै उनीहरु फेरि पहाडतिर लाग्ने गरेको स्थानीय संरक्षण अभियन्ता रबिन घिमिरे बताउँछन् ।
 
नेपालका विभिन्न स्थानमा ६ वटा जटायु रेस्टुरेन्ट रहेकामा कोशी प्रदेशमा यही एउटा सञ्चालनमा छ । महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावि जीव जन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्ने मानिन्छ । गिद्धलाई पृथ्वीको सफा गर्ने सूचीकार या कुचिकारका रुपमा पनि चिचिन्छ ।
 
रेष्टुरेन्टको सबै व्यवस्थापन रामधुनी सामुदायिक वन सालबन्दीले गरिरहेको छ । संरक्षणको काम गरिरहे पनि यस क्षेत्रको प्रचार प्रसार र लगानी कम भएको जटायु संरक्षण समितिका अध्यक्ष हरिनारायण चौधरीको भनाइ छ ।
 
गिद्ध मांशाहारी भए पनि जिउँदो जनावरमाथि आक्रमण गर्दैन । यसले मरेको सिनो मात्रै खान्छ । स्थानीय जानकारका अनुसार कसैले सिनो फालेपछि सुरुमा काग आउने गर्छन् । कागले कराएर सन्देश टाढा टाढा पु¥याएसँगै गिद्ध आउन थाल्ने विश्वास गरिन्छ ।
 
रेष्टुरेन्टमा गाईबाहेक मरेका बाख्रा, कुकुर, भैंसीहरु पनि स्थानीय बासिन्दाले लगिदिने गरेका छन् । एक पटकमा एउटा हिमाली गिद्धले ८ किलोसम्म सिनो खान सक्ने संरक्षणकर्ताहरुको भनाइ छ ।
 
नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइने जनाइएको छ । तीमध्ये सुनसरीमा मात्रै विभिन्न ७ प्रजातिका गिद्ध पाइन्छन् ।
 
नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् ।
 
एक तथ्यांकअनुसार सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए । तर हाल २० हजारभन्दा कम गिद्ध रहेको अनुमान छ । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो ।