Trending :
 

एनआरएनए सम्मेलन सुरु, अब कुरा भन्दा काम थालौँः अध्यक्ष ढकाल

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गर्नुभएको छ । 
 
आजदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्नुहुँदै काम मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिनुभयो । “अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन् हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ”, उहाँले भन्नुभयो । 
 
अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उहाँले उनीहरुले बाहना नपत्याउने बताउनुभयो । “अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।”
 
उहाँले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिनुभयो । “सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।” उहाँले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गर्नुभयो ।