Trending :
 

चलचित्र ‘महाजात्रा’ विदेशमा पनि प्रदर्शनको तयारी

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।
 
दर्शक बढाउने काम अपेक्षित चलचित्रले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ शृङ्खला । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
 
अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारतबाहेकका लागि प्रदर्शन अधिकार खरिद गर्नुभएको छ । उहाँले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खलाप्रतिको दर्शकको विश्वासलाई मुख्य कारण देखाउनुभयो ।
 
“जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ”, वितरक थापाले भन्नुभयो, “मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नुभएको छ । निर्माण पक्षलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको विश्वसनीयता पनि हो ।”
 
जापान, हङ्कङ, न्यूजील्याण्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अष्ट्रेलिया तथा युरोपमा चलचित्र नेपालकै मिति आगामी चैत ९ गते  प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिनुहुँदै वितरक थापाले ‘महाजात्रा’मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुनेसमेत बताउनुभयो । 
 
विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवारका साथ आउने गरेका छन् । सो चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन लागेको बताउनुभयो ।