Trending :
 

चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
बजारमा चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा समस्या परेको छ । मुख्य चाडपर्व सुरु भइसकेको छ । पर्वका बेला अरु बेलाभन्दा बढी चिनी खपत हुने गरेको छ । 
 
सहज रुपमा सहुलियत दरमा चिनी नपाउँदा सामान्य उपभोक्ता प्रभावित बनेका छन् । यसबाहेक सुनसरी–मोरङ औद्योगिक क्षेत्रका बिस्कुट, चकलेट लगायत उद्योग पनि प्रभावित बनेका छन् ।
 
स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरुको भनाइ छ ।
 
यसले गर्दा उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।
 
नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा पर्वका बेला चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताका साथै सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु पनि प्रभावित बताएको बताउँछन् ।
 
भारतीय बजारमा चिनीको मूल्य ६७ रुपैयाँ छ । नेपाली बजारमा सामान्यतया किलोको १२५ सम्म पर्छ ।
 
पर्वका बेला बढी खपत हुने वस्तुहरु उत्पादन गर्ने उद्योगहरु पर्याप्त चिनी नपाउँदा समस्यामा परेको उद्योगीहरुको भनाइ छ ।
 
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतका अनुसार बजारको माग ख्याल गर्दै सरकारले बेलैमा चिनी आयात गरेको भए उपभोक्ता र औद्योगिक क्षेत्रलाई सहज हुने बताउँछन् ।