Trending :
 

कोशी प्रदेशः विश्वासको मतसँगै सरकारमा भागबण्डाको दाबी सुरु

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। कार्की सबैभन्दा छोटो अवधिमा विश्वासको मत पाउने मुख्यमन्त्री हुने छन्। नियुक्त भएको सातदिनभित्रै उनले विश्वासको मत पाउँदैछन्।
 
शपथ लिएलगत्तै उनले दुइजना मन्त्री नियुक्त गरिसकेका छन् भने विश्वासको मत पाएपछि सहयोगी दलका सदस्यलाई मन्त्री नियुक्त गर्नुपर्ने दायित्व कार्कीमाथि छ। प्रमुख सहयोगी दल एमाले, सत्तामा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेत सन्तुष्ट तुल्याउने जिम्मेवारी कार्कीको काँधमा परेको छ । कार्की मुख्यमन्त्रीका लागि अघि सरेसँगै प्रदेश र केन्द्रीय राजनीतिमा उठेको तरंग आजदेखि मत्थर भएपनि त्यसको असर भने बाँकी नै रहने विश्लेषण गरिएको छ। 
 
कार्कीको चयन पछि नेपाली कांग्रेसभित्र सबैभन्दा बढी वहस चलिरहेको छ । महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगनकुमार थापाले शीर्षस्थ नेताहरुलाई यही निहुँमा अर्जाप्न थालेका छन्। उनीहरुले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले यसको जिम्मेवारी लिनुपर्ने र चित्तबुझ्दो जवाफ दिनुपर्ने भनेर माग गरिसकेका छन्। 
 
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्की ‘विद्रोह’ को शैलीमा मुख्यमन्त्री चुनिएका हुन्। नेता शेखर कोइरालाको समर्थनमा उनी मुख्यमन्त्रीको उम्मेदवार बनेका थिए। पार्टीको संस्थागत निर्णयबिना नै कोइरालाको निर्देशनमा कार्की उम्मेदवार बनेको भन्दै कांग्रेस संस्थापन पक्षले चर्को आलोचना गरिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थन र आफ्नो समूहका सदस्यको साथ लिएर कार्की मुख्यमन्त्री बनेका हुन्। आज उनलाई सबै प्रमुख दलले विश्वासको मत दिने निश्चित जस्तै छ।
 
दोस्रो कार्यकालमा प्रदेश सरकारले कार्कीलाई पाँचौ मुख्यमन्त्री पाएको छ। ९ महिनाको अवधिमा मुख्यमन्त्रीहरु फेरिएका फेरियै छन्। पछिल्लो पटक एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका हुन्।