मुुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ
-रासस
कात्तिक २, २०८० काठमाडौं ।
पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।
सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी रु १४ करोड १९ लाख ६५ हजार पुुगेको छ ।
कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुुई वर्ष रोकिएको यो पुुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।
कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते-कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताउनुभयो ।
“पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।”
पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो-कुञ्जोसहित जिल्लामा सञ्चालित रु ७५ करोड ५१ लगतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् ।
घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन २०७६ फागुुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग रु सात करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुुलको भौतिक प्रगति ३५ प्रतिशत छ ।
देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गतेनै रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पुु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । विसं २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।
मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग रु २४ करोड ४५ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
विसं २०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । दस किलोमिटर पाँच सय मिटर सडकमध्ये ५ दशमलव ५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।