रामेछापको देउरालीमा दोस्रो वडा स्तरीय भलिवल कप जारी (फोटो सहित)
-आस्था न्युज
कात्तिक ३, २०८० काठमाडौं ।
रामेछाप नगरपालिका वडा नम्वर २ देउरालीमा दोस्रो वडा भलिवल कप भैरहेको छ । दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर वडा नम्वर २ देउरालीको आयोजनामा वडा स्तरीय भलिवल कप प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष निरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नौं टिमको सहभागिता रहेको छ ।
विजयी खेलाडी टिमलाई नगद सहित आकर्षक पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य तारा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन भएको प्रतियोगिता भोलि कात्तिक ४ गते समापन हुने जनाइएको छ ।
वडा कार्यलयले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै गत वर्षदेखी वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता गर्दै आएको छ ।
वडामा भलिवल प्रतियोगिता हुन थालेसँगै दशैं मनाउनुका साथै भेटघाटको अवसर समेत मिल्ने भएकोले शहर तथा परदेशमा भएका युवाहरु समेत चाँडै नै गाँउघर फर्किने गरेको वडा सदश्य केशव बस्नेतले बताउनुभयो ।
गाउँघरमा हुने यस्ता प्रतियोगिता र सहभागिताले टाढा भएका साथीभाईहरुसँग भेटघाट गर्ने र भलाकुसारी गर्ने राम्रो अवसर प्राप्त भएको स्थानिय युवाहरु बताउछन् ।
दशैमा खेलसँगै गाँउमा यतिबेला चहलपहल बडेको उनिहरुको भनाई छ ।