Trending :
 

मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको लागि खुला

कार्तिक ०४,२०८०

-आस्था न्यूज

कात्तिक ४, २०८० काठमाडौं ।
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।
 
पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात् देवी अवतरित हुने जनविश्वास छ ।
 
देवी प्रतिमास्थल खुला गरिनअघि आज  महासप्तमीका दिन एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि  शुक्रबार ९षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन०  निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको  आँखा खोस्रेर उघारिएको हो । यसरी आँखा उघ्रेपछि सर्वसाधारणलाई देवी दर्शन खुला भएको हो ।  यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।
 
षष्टी तिथिमा बेल फल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ । ‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् ।
 
फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि  दिन थालिएको छ । दशहारा ९दसैँ० पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रकोे पाँचौँ दिनदेखि नै तान्त्रिक मेला (बोलीचालीमा भूतमेला भनिन्छ) सुरु भएको छ ।
 
अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्टआत्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई  यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।