Trending :
 

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

कार्तिक १२,२०८०

-रासस

कार्तिक १२, २०८० काठमाडौं ।
तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । 
 
जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात सय १७ मेट्रिक टन चामल अपुग छ ।
 
वार्षिक प्रतिव्यक्ति दैनिक शून्य दशमलव २५ केजीका दरले एक वर्षका लागि प्रतिव्यक्ति ९१ दशमलव २५ केजी चामल आवश्यक पर्दछ । तनहुँमा यस वर्ष २७ हजार दुई सय २० मेट्रिक टनमात्रै चामल उत्पादन भएको छ । जबकि वार्षिकरूपमा ३१ हजार नौ सय ३७ मेट्रिक टन चामल आवश्यक पर्दछ । 
 
उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा उत्पादन भएको चामलले पुगिरहेको छैन । धान उत्पादन घटेसँगै चामल पनि अपुग भइरहेको छ ।” प्रतिव्यक्तिले प्रतिदिन दुई सय ग्राम खायो भने एक हजार सात सय ७० मेट्रिक टन बचत हुने तथ्याङ्कले देखाएको छ । 
 
धान उत्पादनमा आत्मनिर्भर हुनसके जिल्लामा चामल बढी हुने देखिएको छ । यसका लागि कार्यालयले चैतेधान प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । हाल एक हजार आठ सय ९० हेक्टरमात्रै चैते धानखेती भइरहेकामा त्यसलाई दुई हजार चार सय हेक्टरमा विस्तार गर्ने लक्ष्य छ । “त्यसो हुँदा चैते धान उत्पादन वृद्धि भई चामलमा आत्मनिर्भर बन्न सकिन्छ । त्यतिबेला ६० मेट्रिक टन चामल बढी उत्पादन हुन्छ”, बागबानी विकास अधिकृत धितालले भन्नुभयो ।
 
वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 
यस अवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।