Trending :
 

वडाध्यक्षले जन्म दिनमा एकल महिला सोममायाको घरमा पुर्‍याए बिजुली

कार्तिक १२,२०८०

-आस्था न्युज

कात्तिक १२, २०८० काठमाडौं ।
नेपाली समाजमा पछिल्लो समय केक काटेर पार्टी आयोजना गरी जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । 
 
जन्म दिन मनाउने नाममा फजुल खर्च बढ्दो छ । नेपाली संस्कार हराउँदै छ, विदेशी कल्चर नेपाली समाजमा भित्रिँदै छ । 
 
रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ सैपुका वडाध्यक्ष सन्तोष पौडेलको भने आफ्नो जन्मदिन मनाउने तरिका फरक छ । उनले आफ्नो जन्मदिन समाजका विपन्नको सेवा र सहयोग गरेर मनाउने गरेका छन् । 
 
यस वर्ष उनको जन्मदिनको दिन गाउँकी एक विपन्न एकल महिलाको घरमा बिजुली बत्ती बलेको छ । पौडेलले जन्मदिनको दिन सहयोगी समेत साथमा लिएर दिनभरि वायरिङ गरी गाउँकी करिब ६० वर्षीय एकल महिला सोममाया तामाङको घरमा बिजुली बत्ती बालिदिएका छन् । 
 
आर्थिक रूपमा विपन्न भएको कारण सोममायाले घरमा बिजुली बत्ती जोड्न सकेकी थिइनन् । पौडेलले आफ्नै व्यक्तिगत खर्चमा जन्मदिनको दिन सोममायाको घर उज्यालो पारिदिएका छन् । 
 
गएको वर्षको जन्मदिन पनि उनले व्यक्तिगत खर्चमा आफैँ दिनभरि खटेर स्थानीय एक विपन्न महिलाको घरमा बिजुली बत्ती बालेर मनाएका थिए । ‘जन्म दिनको नाममा अनावश्यक पार्टीमा खर्च गर्नुभन्दा यस्तो काममा गरेको खर्च पछि उहाँहरूको अनुहारमा देखिने चमकले छुट्टै आनन्द आउँछ’, पौडेलले भने । 
 
श्रीमानको मृत्यु भएको, छोरी विवाह गरेर गएकी र छोरा समेत काठमाडौं बस्न लागेपछि सोममाया घरमा एक्लै बस्दै आएकी थिइन् । गाउँभरि सबैका घरमा बिजुली बल्दा पनि सोममायाको घर भने अन्धकार थियो । उनले आर्थिक अभावको कारण बिजुली बत्ती जोड्न सकेकी थिइनन् । 
 
वडाध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा बिजुली बत्ती बालेर घर उज्यालो बनाइदिएपछि सोममायाको खुसीको सीमा छैन । ‘अब मेरो घरमा पनि साँझमा उज्यालो बत्ती बल्ने भयो’, सोममायाले भनिन् । 
 
लिखु तामाकोसी गाउँपालिका-२ ले स्थानीय विपन्न नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखी वडा भरिका नागरिकको न्यूनतम विद्युत् महसुल वडा कार्यालयले नै तिरिदिने गरेको छ ।
 
वडाध्यक्षको व्यक्तिगत खर्चले विद्युत् जडान र वडाले बिजुलीको पैसा तिरिदिने भएपछि अब सोममायाले निःशुल्क बिजुली बत्ती बाल्न पाउने भएकी छिन् । उनको अन्धकारमा साँझ बिताउनु पर्ने बाध्यता हटेको छ ।