मसानघाट पनि अतिक्रमणमा !
-रासस
कात्तिक १३, २०८० काठमाडौं ।
एकदशक अगाडिसम्म बागलुङ निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् ।
पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो ।
घाटमा अवैधरुपमा संरचना निर्माण गर्नुका साथै ढुङ्गा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको हो । निसीखोला गाउँपालिका–१ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताउनुभयो ।
नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उहाँको भनाइ छ । मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताउनुभयो । घाट पवित्रा स्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । कतिपय घाटमा बस्तीसमेत बसालेको उहाँले बताउनुभयो ।
“मान्छेहरुलाई कति लोभ लागेको हो रु, मसानघाटसमते अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नी, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ”, पुनमगरले भन्नुभयो, “गाउँपालिकाले एक/दुई ठाउँमा राम्रो मसान घाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन ।”
निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन् । कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताउनुभयो । घाट साझा थलो भएको हुँदा व्यक्तिगतरुपमा प्रयोग गर्न नहुने उहाँको भनाइ छ । पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा खेती मसानघाट पुरिने गरेको क्षेत्रीले बताउनुहुन्छ । घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।