Trending :
 

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलन सुरु

कार्तिक १४,२०८०

-आस्था न्युज

कात्तिक १४, २०८० काठमाडौं ।
रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् ।
 
उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
 
विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् ।
 
निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले सोमबारदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।