बङ्गलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप
-आस्था न्यूज
कात्तिक १४, २०८० काठमाडौं ।
बङ्गलादेशका हजारौँ गार्मेन्ट श्रमिकले आफूले बनाउने महत्वपूर्ण पश्चिमा ब्रान्डका कपडाको उचित ज्यालाको माग गर्दै हडताल र प्रदर्शनमा सहभागी हजारौँ गार्मेन्ट मजदुर र प्रहरीबीच मङ्गलबार झडप भएको छ ।
देशको सबैभन्दा ठूलो औद्योगिक शहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानामा कार्यरत दशौं हजार मजदुरले हडताल सुरु गरेको र अधिकारीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गाजीपुरमा मात्र एक हजारभन्दा बढी गार्मेन्ट कारखाना छन् जसले एच एन्ड एम र ग्यापजस्ता ब्रान्डका लागि कपडा बनाउँदछन् ।
आशुलियाका एक वरिष्ठ गार्मेन्ट युनियनका नेता अल कामरानले भन्नुभयो,“मजदुरहरू सडकमा उत्रेका छन् किनभने उनीहरूको तलबले अब दुई छाक टार्नका लागि खर्च धान्न सक्दैन ।
बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्तामध्ये एक हो, जहाँ उद्योगले दक्षिण एसियाली यस देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ ।
तर यसका ४० लाख कपडा मजदुरहरूमध्ये धेरैको अवस्था दयनीय छ ।
आशुलिया औद्योगिक क्षेत्रका प्रहरी उपप्रमुख महमुद नासेरले एएफपीसँग भन्नुभयो, “करिब १५ हजार श्रमिकहरू आशुलियाका छुट्टाछुट्टै स्थानमा ज्याला वृद्धिको विरोधमा प्रदर्शनमा सामेल भएका छन् ।
युनियनका नेता कामरानले आशुलियामा मात्रै करिब ५० हजार कामदारले मूल्यवृद्धिलाई धान्न कठिन भएकोले अहिलेको ज्यालामा तेब्बर वृद्धिको माग गर्दै हडतालमा सहभागी भएको बताउनुभयो ।
आलु र प्याजजस्ता केही आधारभूत खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको कामरानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खाद्यान्न, इन्धन तथा घरभाडा पनि बढेको छ । नबढेको एउटा मात्र कुरा भनेको तलब हो ।”
गार्मेन्ट श्रमिक समहति युनियनकी प्रमुख तस्लिमा अख्तरले मुद्रास्फीति र मुद्राको अवमूल्यनलाई ध्यानमा राखिएपछि उत्पादकहरूले दिने क्षतिपूर्ति ‘सन् २०१७ मा कामदारले पाउने भन्दा कम’ भएको बताउनुभएको छ ।