Trending :
 

स्रोत नखुलेको २१ लाख रुपैयाँसहित किशोर पक्राउ

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । 
 
मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
 
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।
 
प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 
 
पक्राउ परेका किशोरको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद गरिएको छ । उनको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।
 
ती किशोरलाई रकमसहित अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ । 
 
हुण्डी कारोबारीमा संलग्नहरुले किशोरलाई अवैध रकम ओसारपसारका लागि प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
 
पक्राउ परेका किशोरले कुनै अपरिचित व्यक्तिले आफूलाई उक्त रकम कुमारी बैंकमा पुर्याइदिन भनेको प्रहरीलाई बताएका छन् । टेलिफोन सम्पर्कमा कुराकानी भएको भन्दै रकम धनीलाई आफूले नचिनेको उनको भनाइ छ ।
 
यसअघि पनि पटक पटक त्यसरी रकम पुर्याइदिने गरेको र त्यसवापत आफूले रकम पाउने गरेको किशोरले प्रहरीमा बताएका छन् ।
 
विराटनगरमा यसअघि पनि पटक पटक हुण्डी कारोबारीले रकम ओसारपसार गरेको भेटिएको थियो । नेपाल न्यूज बैंकबाट