Trending :
 

कोशी प्रदेशमा ६६ प्रतिशत कृषक, ५ लाख हेक्टरमा कृषिकर्म

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौँ ।
कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म भइरहेको तथ्यांक सार्वजनिक भएको छ । यो प्रदेशको कूल जनसंख्यामध्ये ६६ प्रतिशत परिवार कृषक छन् ।
 
राष्ट्रिय तथ्यांक कार्यालयले विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको कोशी प्रदेशस्तरीय प्रतिवेदनमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म गरिरहेको जनाइएको हो ।
 
कृषिकर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।
 
प्रदेशको कृषियोग्य जग्गामध्ये ५३.५ प्रतिशत सिँचित क्षेत्र रहेको छ । कृषक परिवारमध्ये ६८.३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । 
 
प्रदेशमा धान खेतीका लागि योग्य जग्गा २ लाख ७९ हजार ३८९ हेक्टर छ भने मकैका लागि १ लाख ७९ हजार ९१७ र गहुँ खेतीका लागि ४६ हजार ४६८ हेक्टर रहेको जनाइएको छ ।
 
यसैगरी, आँप खेती १ हजार १६९, केरा १ हजार ७४९, सुन्तला १ हजार ६१८, कागती ७२५ र स्याउ १४९ हेक्टरमा खेती भइरहेको तथ्यांक छ । 
 
३९ प्रतिशत कृषकले ट्याक्टर, ५.८ प्रतिशतले पावरट्रिलर र १३.७ प्रतिशतले फलामे हलोले खेती गरिरहेको जनाइएको छ ।