Trending :
 

स्थानिय तहलाई ढुङ्गा गिट्टी बिक्रीबाट राजस्व उठाउनै सकस

कार्तिक १५,२०८०

-रासस

कात्तिक १५, २०८० काठमाडौँ ।
दाङका दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९÷८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ ।
 
दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य लिँदै रु पाँच करोड राजस्व उठाउने लक्ष्य लिएकामा जम्मा रु १४ लाख २३ हजार अर्थात २.८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । यस उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा बबई नदीको पक्की पुलको पूर्वतर्फ, बबई नदी पक्की पुलको पश्चिमतर्फ, बबई नदीको सुकौरा मसानघाट क्षेत्र र ग्वारखोला बालुवाघाट क्षेत्रमा ठेक्का लगाएको थियो । 
 
घोराही उपमहानगरपालिकाले रु दुई करोड राजस्व उठाउने लक्ष्य राखेकामा रु १२ लाख ८१ हजार मात्रै उठाएको छ । यस उपमहानगरपालिकाले हापुर खोला अस्पारा घाटमा  ठेक्का लगाएको थियो । त्यस्तै लमही नगरपालिकाले पनि अत्यन्तै न्यून मात्रामा नदीजन्य पदार्थबाट राजस्व उठाएको छ । लमही नगरपालिकाले रु आठ करोड राजस्व उठाउने लक्ष्य लिएकामा ९० प्रतिशत कम अर्थात् रु ३२ लाख २३ हजार ९० रुपैयाँ मात्रै राजस्व उठाएको छ । राप्ती नदीको बुटकहवा घाट र अर्जुनखोला बन्गैघाट गरी दुई स्थानमा लमहीले ठेक्का लगाएको थियो ।
 
नदीको दिगो व्यवस्थापन र संरक्षण गर्दै खोलाको उच्चतम् प्रयोग र नियमित आम्दानीका लागि भन्दै दाङका स्थानीय तहहरुले गत वर्षदेखि सम्बद्र्धन प्रणालीमा आधारित खोला व्यवस्थापन कार्य सुरु गरेका छन् । यससँगै खोला क्षेत्रका नदीजन्य पदार्थ त्यसलाई बिक्री वितरण गरेर आम्दानी गर्ने योजना बनाएका छन् । आव २०७९/८० मा ढुङ्गा गिट्टीको बिक्रीबाट यहाँका स्थानीय तहले रु २२ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार करोड ५७ लाख ११ हजार ७ सय ७९ रुपैयाँ मात्रै राजस्व सकलन भयो । यो लक्ष्यको ४७.९५ प्रतिशत हुन आउँछ । 
 
तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य लिँदै रु पाँच करोड आम्दानी गर्ने लक्ष्य लिएको तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काले ‘नदीजन्य पदार्थ निकाल्ने जिम्मा पाएका निकायले काम अगाडि बढाउन नसक्दा लक्ष्यअनुसार राजस्व उठ्न नसकेको’ बताउनुभयो । नदीजन्य पदार्थ बिक्रीबाट उठेको आम्दानीले विकास खर्च गर्ने लक्ष्य रहेकामा त्यो हुन नसकेको उहाँको भनाइ छ । 
 
तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काका अनुसार बोलपत्र आह्वान गरेर नदीजन्य पदार्थको उत्खनन गर्न खोज्दा ठेक्का नलाग्ने र राजस्व नउठ्ने समस्याको कारण अवैधानिक क्रसर उद्योग हुन् । नदीजन्य पदार्थको उत्खनन्, ओसार–पसारमा संलग्न सवारीसाधन साउनयता मात्रै करिब ५० बढी पक्राउ परेको र जिल्लाका कुनै पनि क्रसर वैधानिक नभएको भन्दै क्रसरहरूलाई नियन्त्रणमा ल्याउने पनि उहाँले बताउनुभयो । 
 
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले राजस्व वृद्धि गर्न यस वर्ष इमान्दारीताका साथ निर्णयलाई कार्यान्वयन गर्ने बताउनुभयो । नदीजन्य पदार्थको व्यवस्थापनसम्बन्धी भएको नीति नियमलाई कार्यान्वयन गर्न नसक्दा समस्या आएपनि त्यसको समाधान गरिने उहाँको भनाइ छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय तहहरुका बीचमा नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनका सम्बन्धमा एकरूपता ल्याएर चोरी निकासी रोक्ने बताउनुभयो ।