थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकिलो १२२.५० रुपैयाँ पुग्यो
-आस्था न्यूज
कात्तिक १६, २०८० काठमाडौं ।
असोजको अन्तिम साता कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको औसत मूल्य ७६.४० रुपैयाँ रहेको थियो। कात्तिकको दोस्रो सातमा आइपुग्दा प्याजको मूल्य बढेर १२२.५० रुपैयाँ पुगेको छ।
जसअनुसार दुई सातामै प्याजको थोक मूल्य प्रतिकिलो ६०.३४ प्रतिशतले बढेको पाइएको छ। थोक मूल्यमै ६० प्रतिशतले बढ्दा खुद्रा बजारमा प्याजको मूल्य दोब्बरभन्दा बढीले बढेको व्यवसायीहरु बताउँछन्।
मंगलबार प्याजको थोक मूल्य न्यूनतम प्रतिकिलो १२० रुपैयाँदेखि अधिकतम १२५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। असोजको अन्तिम सातामा कालीमाटीमा उक्त प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ७८ रुपैयाँ रहेको थियो। त्यतिबेला खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको थियो।
अहिले खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँदेखि १७० रुपैयाँसम्म पर्न थालेको छ। दुई सातामै प्याजको मूल्य दोब्बरभन्दा बढीले वृद्धि हुँदा आफूहरु मारमा परेको उपभोक्ताहरुको गुनासो छ।
भारतले निर्यातमा कढाई गर्दा बढ्यो मूल्य
भारतले प्याज निर्यातमा मूल्य वृद्धि गरी कडाई गरेसँगै नेपाली बजारमा यसको प्रभाव परेको प्याज व्यवसायीहरु बताउँछन्। तर, भारतले निर्यातमा कढाई गर्नुअघि नै बजारमा प्याजको मूल्य बढेको पाइएको छ।
गत असोज दुई गते नै कालीमाटी तरकारी बजारमा प्याजको मूल्य ५०।१२ प्रतिशतले बढेको समितिले जनाएको छ। त्यतिबेला ५०।१२ प्रतिशतले बढेर प्याजको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ८४ रुपैयाँ पुगेको थियो।