Trending :
 

टी-२० विश्वकप एसिया छनोटः आज नेपाल र ओमानले सेमिफाइनलको लागि खेल्दै

कार्तिक १६,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
टी-२० विश्वकप एसिया छनोट खेलमा आज नेपाल र ओमानले सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् ।
 
नेपाल इतिहासमा दोस्रोपटक टी-२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ ।
 
शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।
 
आज भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल ग¥यो । लगातार दोस्रो जीतपछि नेपालले भोलि ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो । नेपालले सेमिफाइनल कोसित खेल्छ भन्ने टुंगो भोलि लाग्नेछ ।
 
नेपालसँगै ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलिको खेलले नेपाल र ओमानमा को पहिलो हुने भन्ने निश्चित गर्ने छ । यदि नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा पहिलो भयो भने अर्को समूहबाट दोस्रो भएर आउने टीमसँग खेल्नेछ । नेपाल पराजित भएर दोस्रो भयो भने समूह ‘बी’ को पहिलो टीमसँग खेल्नुपर्छ ।
 
समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेत छन् । लगातार दुई जीत हासिल गरेको यूएईले सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का छ । सेमिफाइनलको दावेदार मानिएको हङकङ बहराइनसँग पराजित भयो भने बहराइन यूएईसँग पराजित भयो । यसले समूहबीचको समीकरण रोचक बनेको छ । अब भोलि यूएई र हङकङ अनि बहराइन र कुवेतबीच खेल हुनेछ ।
 
यूएईले हङकङलाई र बहराइनले कुवेतलाई हराएको खण्डमा बहराइन सेमिफाइनलमा जानेछ । हङकङले यूएईलाई र बहराइनले कुवेतलाई हराएमा रनरेटको आधारमा निर्णय हुन्छ ।
 
यस्तै हङकङले यूएईलाई र कुवेतले बहराइनलाई हराएको खण्डमा हङकङ सेमिफाइनलमा जान्छ । कुवेतको भने सम्भावना अन्त्य भइसकेको छ ।
 
नेपालले यूएईसँग अत्यधिक म्याच खेल्दै आएको छ । पछिल्लो केही वर्षमा नेपाल युएईमाथि हावी भइरहेको थियो । यद्यपि, हालै काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई हराएकाले यूएईको मनोबल बढेको छ ।
 
बहराइनसँग नेपालले कम खेल खेले पनि तुलनात्मक रुपमा नेपाल बलियो हो । यद्यपि, विश्वकपको लागि निर्णायक म्याच भएको खेलाडीहरु दबाबमा हुनेछन् । खासमा यो प्रतियोगिताको फाइनलभन्दा सेमिफाइनल महत्वपूर्ण छ ।
 
नेपालका लागि समूह विजेता हुनु महत्वपूर्ण किन छ भने समूह एको बिजेता र समूह बीको उपविजेताबीचको म्याच त्रिवि मैदानमा हुनेछ । त्रिवि मैदानमा नेपालको ब्याटिङ निकै चल्ने गर्छ । यहाँ नेपाललाई हराउन कुनै पनि टिमका लागि सहज हुँदैन ।