एभरेष्ट सुगर मिल्समा ३ हजार मेट्रिक टन चिनी मौज्दात, ११७ रुपैयाँमा बिक्री गर्न निर्देशन
-आस्था न्यूज
कात्तिक १७, २०८० काठमाडौं ।
तिहारको समयमा चिनीको अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ।
विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो।
बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिए। शुक्रबार काठमाडौँका भित्री शहरका पसलमा थप ६ सय बोरा चिनी पठाइने उनले जानकारी दिए।
सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्नेछन्। ‘हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन।’