आम्दानीको माध्यम बन्यो सयपत्री फूल
-आस्था न्यूज
कात्तिक १६, २०८० काठमाडौं ।
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयाका उहाँले व्यावसायिक सयपत्री फूलखेती सुरु गर्नुभएको लामो समय भएको छैन । उहाँको फूलबारीमा पुग्दा जोसुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् ।
उहाँले चार वर्षअघि कोरोनाका कारण लकडाउन सुरु हुँदा कामविहीन भएपछि क्षीरेश्वरनाथ नगरपालिकामा भण्डार तथा उत्पादन शाखा’ सञ्चालन गरेर व्यावसायिक फूलखेती सुरुआत गर्नुभयो । क्षीरेश्वरनाथ-४ हरैयामा १० कठ्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूलखेती सुरु गर्नुभएको हो । सुरुमा फूलखेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको लकडाउनमा खासै आम्दानी गर्न नसके पनि घाटा पनि नभएको उहाँले बताउनुभयो ।
उहाँले गत वर्ष तिहारका समयमा फूलमात्रै रु १० लाखको बिक्री गरेको र यसबाट खर्च, मेहनत, ज्याला मजदुरी सबै कटाएर करिब रु छ लाखजति बचत भएको जानकारी दिनुभयो । यसपटक एकै याममा रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । गत वर्ष कममा पाँच जातको सयपत्री फूलखेती गर्नुभएकामा यसपालि मेग्रा, चिनाचेरी, कर्मा त्रिपल फाइभ ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् ।
युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने रामप्रवोधकी श्रीमती फूलो देवीको भनाइ छ । फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना छ ।
अहिले आफू श्रीमती र दुई बुहारीसहित यही फूलखेतीमा लागिरहेको जनाउँदै फूलो देवीले भन्नुभयो, “जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था छ ।” रामप्रवोधले यसपालि फूलखेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्याएको हँुदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गर्नुभयो ।