वीर र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटमा परिचालित
-आस्था न्युज
कात्तिक १८, २०८० काठमाडौं ।
सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
खड्काका अनुसार, दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।
एसएसपी खड्काका अनुसार, महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सेनाको टोली पनि गएरातिदेखि नै खोज तथा उद्दारमा खटिएको छ । थप उद्दार टोलीलाई पठाउन समेत तैनाथ राखिएको छ ।