Trending :
 

विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने, मंसिर पाँचमा नेपाल र यमन खेल्ने

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ ।
 
अखिल नेपाल फुटबल संघ एन्फाले, आज पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 
 
घरेलु मैदानमा यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने एन्फाले जनाएको छ। 
 
यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने तय छ ।
 
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन् । 
 
विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य खेलका लागि छानिने छ ।
 
यस्तै यमनी राष्ट्रिय टोलीका लागि भने च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाएको शाहले बताए ।
 
नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारण प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको शाहले बताए । यस्तै उक्त खेलको प्रत्यक्ष प्रशारणको तयारी अन्तिम चरणमा पुगेको र मिडिया पार्टनर केही दिनमै टुङ्गो लगाउने एन्फाले जनाएको छ । 
 
दोस्रो चरणको सबै खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई दिइएको छ । 
 
एन्फाले खेलको अनुमानित लागत ७३ लाख  ६८ हजार ४०० लाग्ने बताएको छ ।