Trending :
 

आरती साह प्रकरणः एसपी खड्कालाई जिम्मेवारीबाट हटाएर गृहले पीडित पक्षलाई वार्तामा बोलायो

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
गृह मन्त्रालयले छोरीको न्याय माग्दै १५६ दिनदेखि आन्दोलनरत आरती साहका आफन्तलाई वार्तामा बोलाएको छ । 
 
गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो ।
 
आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ ।
 
गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । 
 
दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पाएिको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।
 
उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले घटनाको कमजोर अनुसन्धान गरेको र आफूहरुमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै खड्कालाई जिम्मेवारीबाट नहटाएसम्म सरकारसँग वार्ता नगर्ने शर्त राखेका  थिए । 
 
हिजो खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
 
खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।