रामेछापका दुई गाउँपालिकामा इलाका प्रहरीका नयाँ भवन
-आस्था न्यूज
कात्तिक २१, २०८० काठमाडौं ।
रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाईएको हो । खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन् ।
दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । दुवै कार्यालयका भवन साढेदुई तलाका छन् । दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैँया लागतमा गरिएको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा, प्रमुख जिल्ला अधिकारी अनिता निरौला,बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं, आनन्द श्रेष्ठ,सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्षद्वय ठुलो कान्छा तामाङ, ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए ।