Trending :
 

संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा संचालन गर्न चाहेको सभामुख घिमिरेको भनाई

कार्तिक २१,२०८०

-आस्था न्यूज

कात्तिक २१, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी हिउँदे अधिवेशन सिंहदरबारमा निर्माणाधीन नयाँ भवनमा संचालन गर्न चाहेको बताएका छन् । 
 
उनले तत्काल काम सक्न सरकार र निर्माण कम्पनीसँग आग्रह गरे । मंगलबार संसद् सचिवालयमा सहरी विकासमन्त्री सीता गुरुङ, संघीय संसद् भवन आयोजना प्रमुख मचाकाजी महर्जन र  निर्माणमा संलग्नहरूसँग भएको छलफलमा उनले निर्माण कार्य छिटो सक्न निर्देशन दिएका हुन् ।
 
प्रतिनिधिसभा र राष्ट्रिय सभाको मुख्य हलको निर्माण कार्य २ महिनामा सकिन्छ कि सकिँदैन ? हिउँदे अधिवेशन हामीले नयाँ भवनमा सञ्चालन गर्न चाहेका छौँ, सभामुखले भने । सभामुख घिमिरेले नयाँ संसद् भवनमा जडान गरिने प्रविधिबारे संसद्का कर्मचारीलाई प्राविधिक जानकारी पूर्णरूपमा दिनुपर्ने बताएका छन् ।
 
संसद् सञ्चालनका क्रममा प्रविधिको प्रयोग संसद्का कर्मचारीले गर्नुपर्ने भएकाले त्यसको यथेष्ट जानकारी पनि दिनुपर्ने उनको भनाइ थियो । भेटमा सहरी विकासमन्त्री गुरुङले पनि हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्न सकिने गरी नै निर्माणको काम अघि बढेको जानकारी गराएकी थिइन् । पछिल्लो समय द्रुत गतिमा काम भइरहेको तर त्यो पनि,सोचेअनुसार भने हुन नसकेको उनको भनाइ थियो । संसद्को नयाँ भवनमा जडान गरिने प्रविधिसमेत नयाँ हुने उनले बताइन् ।
 
आयोजना प्रमुख मचाकाजी महर्जनले नयाँ संसद् भवनका ११ मध्ये ७ वटा भवनको काम छाना छाउने कामसम्म पुगेको जानकारी दिए । सम्पूर्णमा ७५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ थियो । संघीय संसद्को भवन निर्माण २०७६ असोजमा सुरु गरिएको हो ।