कर्णाली प्रदेश सरकारबाट भूकम्प प्रभावित १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण
-आस्था न्युज
कात्तिक २२, २०८० काठमाडौं ।
कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित स्थानीय तहलाई झण्डै साढे २ करोड रकम हस्तान्तरण गरेको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५-२५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। यस्तै, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५-२५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। यस्तै, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०-२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको जिसीले बताए। मन्त्री जिसीका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई ५-५ लाख हस्तान्तरण गरिएको छ।
भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११स्४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्र भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो।