भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु

कार्तिक २२,२०८०

-आस्था न्युज

कात्तिक २२, २०८० काठमाडौं ।
भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।
 
बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।
 
अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताउनुभयो ।
 
मध्यपुर अस्पतालले भक्तपुर जिल्लामै पहिलो पटक एमआरआई सेवा शुरु गरेको भन्दै अध्यक्ष कार्कीले अब एमआरआई सेवा लिन भक्तपुर तथा काभ्रे लगायतका पूर्वका बिरामीले काठमाण्डौ भौँतारिनुपर्ने बाध्यता अन्त्य भएको दाबी गर्नुभयो ।